
घोराही, चैत्र २० – दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा शुक्रबार घोराहीको बहुउद्देश्यीय सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा क्याम्पसका विभिन्न संकायमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने अध्ययन पूरा गरी क्याम्पसबाट बिदा हुन लागेका विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो।

स्ववियु सभापति दिपेश कुमार डि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने प्रमुख अतिथि तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापकहरू, स्ववियु पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, साहित्यकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता देखिएको थियो।

नवप्रवेशी विद्यार्थीहरूलाई सभाध्यक्ष, प्रमुख अतिथि तथा अन्य अतिथिहरूले खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए। त्यसैगरी, अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री न्यौपानेले महेन्द्र बहुमुखी क्याम्पसले लामो समयदेखि शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले क्याम्पसले दक्ष जनशक्ति उत्पादन गरी समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट अतिथि नगर प्रमुख चौधरीले विद्यार्थीहरूलाई अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै उनीहरूलाई राष्ट्रको भविष्यका कर्णधारका रूपमा प्रस्तुत गरे।
सभाध्यक्ष समेत रहेका स्ववियु सभापति डि.सी.ले नयाँ विद्यार्थीहरूको आगमनले क्याम्पसको शैक्षिक वातावरण थप सुदृढ भएको उल्लेख गर्दै विद्यार्थी हकहितका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अन्य वक्ताहरूले पनि नवप्रवेशी विद्यार्थीहरूलाई सफलताको शुभकामना तथा बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
स्ववियु उपाध्यक्ष प्रशान्त पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा समापन स्ववियु सचिव सागर पण्डितले गरेका थिए।

समाचार स्राेत : जलजला टाइम्स
फाेटाे : बिष्णु गेराथाेकी (पत्रकार )
