
दाङ, घोराही । स्वर्गद्वारी प्युठान–दाङ सरोकार समाजको चौथो अधिवेशन शनिबार घोराहीस्थित होटल भिङ्ग्रेलीमा सम्पन्न भएको छ। अधिवेशनसँगै समाजको नवौं साधारणसभा समेत सम्पन्न गरिएको हो।
समाजले पर्यटन प्रवर्द्धन, सामाजिक सहकार्य, परम्परा तथा रीतिरिवाजको संरक्षणलाई मुख्य उद्देश्य बनाउँदै अधिवेशन आयोजना गरेको जनाएको छ। कार्यक्रममा समाजका अध्यक्ष नारायण प्रसाद अधिकारीले दाङ र प्युठान क्षेत्रबीच आपसी सम्बन्ध विस्तार गर्दै पर्यटन, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ समाज अघि बढिरहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्रेमलाल पोख्रेल रहनुभएको थियो। उहाँलाई जेष्ठ नागरिकको रुपमा सम्मान समेत गरिएको थियो। यस्तै विशिष्ट अतिथिका रुपमा घोराही खानेपानी संस्थाका नवनिर्मित अध्यक्ष धुर्ब केसी सहभागी हुनुभएको थियो। कार्यक्रममा घोराही उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, बिन्दु केसी, नवीन पोख्रेल तथा उषा सुवेदी लगायतको उपस्थिति रहेको थियो।
समाजले विशेषगरी धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारीको प्रचार–प्रसारमार्फत स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ। समाजको मूल नारा “दाङको सान, विविध छन शिरमा स्वर्गद्वारी, पर्यटन प्रवर्द्धनको आर्थिक विकास सधैंभरि” रहेको छ।
अधिवेशनमार्फत नयाँ नेतृत्व चयन, आगामी कार्ययोजना, संगठन विस्तार तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको जनाइएको छ। साथै दाङ र प्युठानबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। समाजका अनुसार हाल संस्थामा १११ जना आजीवन सदस्य तथा ३७५ भन्दा बढी साधारण सदस्य आबद्ध रहेका छन्।

अधिवेशनले नारायण प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति २०८३ चयन गरेको छ। नवगठित समितिको महिला उपाध्यक्षमा ईमा पोख्रेल, उपाध्यक्षमा राम प्रसाद पोख्रेल, सचिवमा सुरेन्द्र रिजाल, सहसचिवमा जङ्ग बहादुर जिसी, कोषाध्यक्षमा धनश्याम कोईराला तथा सह–कोषाध्यक्षमा धना जिसी चयन हुनुभएको छ। समितिमा अन्य ८ जना सदस्य समेत चयन गरिएको समाजले जनाएको छ। कार्यक्रमको सहजीकरण समाजका सचिव सुरेन्द्र रिजालले गर्नुभएको थियो भने बन्दसत्रको अध्यक्षता नारायण प्रसाद अधिकारीले गर्नुभएको थियो।

