चैत ०५, दाङ — नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले कक्षा ८ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै निःशुल्क यातायात तथा खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।

घोराही उपमहानगरपालिकाभित्र सञ्चालन हुने कक्षा ८ को वार्षिक परीक्षाका लागि सामाजिक विकास महाशाखाले तोकेका परीक्षा केन्द्रहरू टाढा परेकाले विद्यार्थी तथा अभिभावकबाट गुनासो आएपछि संघले यस विषयमा चासो देखाएको हो। संघका अनुसार परीक्षा केन्द्र टाढा हुँदा विशेषगरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई समयमै केन्द्रमा पुग्न कठिनाइ भएको छ।

संघले जारी गरेको विज्ञप्तिअनुसार १३–१४ वर्ष उमेर समूहका विद्यार्थीहरू लामो दूरी हिँडेर परीक्षा दिन जानुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। यसले विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र परीक्षामा सहभागितामाथि नै असर पार्न सक्ने भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
सरकार तथा सम्बन्धित निकायबाट अपेक्षित संवेदनशीलता र आवश्यक पहल नदेखिएको आरोपसमेत संघले लगाएको छ। यस्तो अवस्थामा विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गर्न आफूहरूले अग्रसरता लिएको संघले जनाएको छ।
यसै सन्दर्भमा नेपाल विद्यार्थी संघ दाङले परीक्षा दिन आउने सम्पूर्ण विद्यार्थीका लागि निःशुल्क सवारी साधन र खानाको व्यवस्था गरिएको जानकारी गराएको छ। संघले विद्यार्थीहरूको सहज पहुँच, सुरक्षा र मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त व्यवस्था गरिएको जनाएको छ।

संघले विद्यार्थीहरूको हितलाई केन्द्रमा राखेर गरिएको यस व्यवस्थापनमा सबै सरोकारवाला निकाय तथा समुदायलाई सहयोग गर्न आग्रह गरेको छ। साथै, आवश्यक सेवा लिन इच्छुक विद्यार्थी तथा अभिभावकलाई सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ।
नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष गुरु प्रसाद गौतमले विद्यार्थीहरूको समस्यालाई समाधान गर्न संघ सधैं प्रतिबद्ध रहने बताए। उनले आगामी दिनमा यस्ता विषयमा स्थानीय सरकार र सम्बन्धित निकायले जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।
