चैत १७ दाङ – नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा दाङ शाखाले आयोजना गरेको दुईदिने ‘मिडिया, कानुन र संहिता’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रम जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागितामा दुई दिनसम्म सञ्चालन गरिएको थियो।

सोमबार आयोजित उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
प्रशिक्षणको पहिलो सत्रमा महासंघ दाङ शाखाका पूर्व अध्यक्ष डा. सुदीप गौतमले ‘मिडिया र कानुनी संरचना’ विषयमा सहजीकरण गर्दै पत्रकारहरूले कानुनी ज्ञानसँगै जिम्मेवार सञ्चार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले सत्य, निष्पक्षता र व्यावसायिक आचरणमा आधारित पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो।


त्यसैगरी दोस्रो सत्रमा महासंघ दाङ शाखाका पूर्व अध्यक्ष दुर्गालाल के.सी.ले ‘पत्रकार आचारसंहिता र व्यावसायिक नैतिकता’ विषयमा प्रशिक्षण दिँदै सञ्चार क्षेत्रमा विश्वसनीयता कायम राख्न आचारसंहिताको पालना अनिवार्य रहेको बताउनुभयो। उहाँले गलत सूचना नियन्त्रण तथा जिम्मेवार समाचार सम्प्रेषणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले यस्तो प्रशिक्षणले आफ्नो ज्ञान र सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको प्रतिक्रिया दिएका छन्। साथै, आगामी दिनमा यस्ता व्यावहारिक तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

मंगलबार सम्पन्न समापन कार्यक्रममा महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघ दाङ शाखाका सचिव जे.एन. सागरले गर्नुभएको थियो।

