घोराहीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग

दाङ, २ चैत । घोराही बनाऔं अभियानले घोराही उपमहानगरपालिका–४ भकारेमा निर्माण भइरहेको नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँने दायित्व सरकारको भएको हुँदा पालिकाले अस्पतालको भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र त्यहाँ अस्पतालकारुपमा सेवा सूचारु गर्न माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले घोराही बनाऔं अभियानले अति नै राम्रो विषय उठान गरेको भन्दै यस विषयमा पालिकाले गम्भीरताका साथ कार्य गर्ने बताए । घोराहीमा सरकारी अस्पताल नभएका कारण स्वास्थ्य विमा लगायतका सरकारले निःशुल्क रुपमा दिने गरेको स्वास्थ्य सेवा नागरिकलाई दिनका लागि केही समस्याहरु भएको बताउँदै उपप्रमुख डिसीले नगर अस्पताल निर्माण कार्य र सेवा सूचारु गर्ने विषयमा नगरकै तर्फबाट आफुहरुले तदारुकताका साथ काम गरिरहेको बताए ।